काठमाडौँ - फरवार्ड अल्भारो मोराटाले ह्याट्रिक पूरा गरेपछि स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले मैत्रीपूर्ण खेलमा इटालियन क्लब युभेन्ट्समाथि सानदार जित दर्ता गरेको छ।
एट्लेटिकोले युभेन्ट्समाथि ४-० को सानदार जित दर्ता गरेको हो। उसका लागि थप १ गोल म्याथिअस कुन्हाले गरेका थिए। युभेन्ट्सको प्रशिक्षण मैदान टोरिनोमा आइतबार राति भएको खेलको १०औं मिनेटमा मोराटोल गोल गर्दै टोलीलाई अग्रता दिलाए। ४३औं मिनेटमा मोराटाले गोल गर्दै अग्रता दोब्बर पारेका थिए।
६२औं मिनेटमा उनले आफ्नो पुर्व क्लब युभेन्ट्सविरुद्ध ह्याट्रिक पूरा गरेका थिए। त्यसपछि इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा परिवर्तित म्याथिअस कुन्हाले गोल गर्दै एट्लेटिको लाई सानदार जित दिलाए।
लोन अवधि पुरा गरेपछि मोराटा एट्लेटिको फर्किएका छन्। मोराटा सन् २०२० मा २ सिजनका लागि लोनमा युभेन्ट्स पुगेका थिए।
२९ वर्षीय मोराटाले युभेन्ट्समा २ सिजन बिताउँदा ९२ खेलमा ३२ गोल गरेका थिए।