नर्वे - नर्वेमा ह्याम्स नामक आँधीपछि आएको बाढीले जनजीवन अस्तव्यस्त बनेको छ। राजधानी ओस्लोबाट करिब १५० किलोमिटर उत्तर पूर्वमा रहेको ब्रास्केरिडफसको बाँध फुटेसँगै नर्वेको सबैभन्दा लामो नदी ग्लोमामा बाढी आएको हो।
गत सोमबार आएको आँधीपछि आएको बाढीका कारण नर्वेमा ४ हजार भन्दा बढी संरचना ध्वस्त पारेको छ। ग्लोमाको पानीको सतह बढ्दै गएपछि प्रहरीले स्थानीयहरूलाई उद्धार गरेको थियो। आँधी सोमवारदेखि अहिलेसम्म पनि जारी रहेको बताइएको छ।
नर्वेजियन नेचर ड्यामेज पुल एण्ड फाइनान्स नोर्गका अनुसार नर्वेमा प्राकृतिक प्रकोपको कारण ९ सय मिलियन नर्वेजियन क्रोनर (लगभग ८८.२ मिलियन अमेरिकी डलर) बराबरको सम्पत्ति नष्ट भएको छ। ११४ स्थानका सडक खण्डहरू बाढी र पहिरोका कारण सम्बन्ध विच्छेद्य बनेका छन्।
नर्वेजियन सार्वजनिक सडक प्रशासनले सबैभन्दा बढी प्रभावित क्षेत्रहरूममा इनल्याण्डेटलाई राखेको छ। सो क्षेत्रमा राष्ट्रिय आपतकालीन टोली खटाएको छ। आँधीका कारण २ हजार बढी नागरिक विस्थापित भएका छन्। नर्वेका न्यायमन्त्री एमिली एङ्गर मेहलले सरकारले आँधी प्रभावित क्षेत्रका नागरिकलाई उद्धार गर्न थप हेलिकप्टर र अन्य स्रोतहरू परिचालन गरेको बताए।