काठमाडौँ - नाबालिग गायिकालाई बलात्कार गरेको अभियोग खेपेका अभिनेता पल शाह प्रहरीको खोजीको सूचीमा छन्। उनलाई खोज्न प्रहरी परिचालन भएको जनाइएको छ। १७ वर्षीया गायिकाले आफूलाई शाहले पटक पटक बलात्कार गरेको दाबी सहित जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार जाहेरी दर्ता गराएकी थिइन्। त्यससँगै प्रहरीले अनुसन्धान पनि तीब्र बनाएको छ।
बलात्कार जस्तो जघन्य मुद्दामा जाहेरी परेसँगै शाहलाई अब पक्राउ पर्नबाट कसैले रोक्ने छैन। केही महिनाअघिदेखि नै शाह र ती गायिकाबीचको सम्बन्धको खबर बाहिरिएका थिए। बीचमा मिलापत्रका कुराहरु बाहिर आएपनि अन्ततः पीडित भनिएकी गायिका प्रहरीसम्म पुगेकी हुन्।
पल शाहमाथिको अभियोग पुष्टि भए कानुनअनुसार १० देखि १२ वर्ष कैद सजाय हुने छ। मुलुकी अपराधसंहिताको करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा ३ अनुसार उनलाई यो कैद सजाय हुने भएको हो। साथै शाहले पीडितको माग बमोजिम क्षतिपूर्ति पनि भर्नुपर्नेछ। ‘१६ वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० देखि १२ वर्षसम्म कैद हुने’ संहितामा भनिएको छ। शाहविरुद्ध उजुरी दिने गायिका हाल १७ वर्ष उमेरकी छिन्।