काठमाडौँ । देशका विभिन्न स्थानमा शुक्रबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन्। रोल्पा, पाल्पा, बर्दिया र रौतहटमा भएका दुर्घटनाहरूमा अन्य धेरै घाइते भएका छन्।
रोल्पाको सुनिलस्मृति गाउँपालिका–३ रोहवाङस्थित सडकमा रा.१ ह ३३५८ नम्बरको अटो दुर्घटना हुँदा ५४ वर्षीय रेगबहादुर बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते अवस्थामा उपचारका लागि सुलिचौर लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो।
पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबाँसमा लु.१ ज ३९०८ नम्बरको जीप सडकबाट करिब १,२०० मिटर तल खस्दा ३ महिलाको घटनास्थलमै मृत्यु भएको छ।
मृतकहरू:
३६ वर्षीया हेम कुमारी सारू
४५ वर्षीया ओम कुमारी खाम्चा
पहिचान खुल्न बाँकी एक महिला
दुर्घटनामा घाइते भएका ८ मध्ये ५ जनाको उपचार नवलपरासी–पूर्वमा, जबकि ३ जनालाई चितवन रिफर गरिएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बारबर्दिया नगरपालिका–९ मा भे.३ प ४७५२ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा २३ वर्षीय संजोग थारूको मृत्यु भएको छ।
उनी सवार मोटरसाइकल अर्को मोटरसाइकलसँग ठोक्किएपछि अनियन्त्रित भई पोलमा ठोक्किएको प्रहरीले जनाएको छ। घाइते थारूको बर्दिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। अर्को मोटरसाइकलको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रौतहटको चन्द्रपुर नगरपालिका–४ मा ट्रक (ख ११४८) र कार (च ६१९३) एकआपसमा ठोक्किँदा ७९ वर्षीय भक्तबहादुर खत्रीको मृत्यु भएको छ।
गम्भीर घाइते भएका उनलाई सिभिल अस्पताल चन्द्रपुरमा उपचारका क्रममा मृत्यु भएको हो। कार चालकसहित अन्य २ जना घाइतेको उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यी सबै दुर्घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरीरहेको जनाएको छ।