काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको पछिल्लो शेयर खरिद बिक्री प्रक्रियालाई मान्यता दिन नसकिने बताएका छन्।
सोमबार प्रधानमन्त्री निवास बालुवटारमा सम्पदकहरुसँगको कुराकानीका क्रममा दाहालले पहिलेभन्दा निकैकम मूल्य राखेर गरिएको एनसेलको शेयर खरिद बिक्रीलाई मान्यता दिन नसकिने बताएका हुन्।
उनले खरिद बिक्रीमाथि अध्ययन हुने जानकारी दिँदै त्यसका लागि अध्ययन टोली बन्ने जानकारी दिए। ‘एनसेलसँग लिनुपर्ने कर उठाउँदै आएका छौँ। १३० अर्बको सम्पत्ति ६ अर्बमा बेच्ने कुरा किन्ने र बेच्नेबीच मात्रै कुरा मिलेर हुँदैन,’ प्रधानमन्त्री दाहालले सम्पादकहरुसँग भने, ‘यसमा सरकारले अध्ययन टोली बनाउँछ। खरिद बिक्री प्रक्रियालाई अघि बढ्न नदिई सरकारले कानुनको दायरामा ल्याउँछ।’
एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर मलेसियाको आजियाटा कम्पनीले नेपाली संस्थापक रहेको एक डलरको बेलायती कम्पनी स्पेक्ट्रेलाइट युकेलाई बिक्री गरेको छ।
सात वर्षअघि स्विडेनको टेलिया सोनेराले एनसेलको ८० प्रतिशत शेयर आजियाटालाई एक अर्ब ३६ करोड ५० लाख अमेरिकी डलर अर्थात् एक खर्ब ४४ अर्ब ७ करोड रुपैयाँमा बिक्री गरेको थियो। तर आजियाटाले अहिले स्पेक्ट्रेलाइटलाई खरिद गरेको भन्दा ९६.३४ प्रतिशतले घटाएर पाँच करोड अमेरिकी डलर अर्थात् ६ अबै रुपैयाँ मात्रै बिक्री गरेको छ।
बिक्री सम्झौतमा ६ महिनाभित्र ५० लाख अमेरिकी डलर र बाँकी चार करोड ५० लाख अमेरिकी डलर आउँदो चार वर्षभित्र चुक्ता गर्ने उल्लेख छ। सन् २०२९ सम्मको नाफा पनि आजियाटाले नै पाउने खरिद बिक्री सम्झौतामा उल्लेख गरेको सार्वजनिक भएको छ। उक्त खरिद प्रक्रियाप्रति संसदको सार्वजनिक लेखा समितिले चासो जनाउँदै राज्यका विभिन्न निकायसँग सोधीखोजी गरेको छ।