रवीन्द्र मिश्रको 'विचारभन्दा माथि देश' सार्वजनिक

काठमाडौँ - पत्रकारिता हुँदै लेखन र राजनीतिमा सक्रिय रहनुभएका रवीन्द्र मिश्रको नयाँ पुस्तक 'विचारभन्दा माथि देश' लोकार्पण भएको छ।

पुस्तक लोकार्पण गर्न प्रकाशक संस्था फाइन प्रिन्टले आज सोमवार आयोजना गरेको कार्यक्रममा सबैभन्दा पहिले पुग्ने १० जना व्यक्तिसँगै पूर्व उपप्रधानमन्त्री एवम् वामपन्थी नेता सीपी मैनाली, पूर्वमन्त्री एवम् जलस्रोतविद् दीपक ज्ञवालीलगायते पुस्तक लोकार्पण गरेका हुन्। १ सय ९१ पृष्ठको पुस्तकको बिक्रीबाट आउने आम्दानी राजनीतिक सुधार अभियानमा लगाइने जनाइएको छ।

प्रतिनिधि सभा एवम् प्रदेश सभा चुनावको मिति घोषणा भएको बेला राजनीतिक विचार अघि सारी पुस्तक सार्वजनिक भएको हो। कार्यक्रममा मिश्रले संवैधानिक राजसंस्था, सङ्घीयता खारेजी, हिन्दू-बौद्ध राष्ट्र, कल्याणकारी (सामाजिक) लोकतन्त्रका विषय पुस्तकमा उल्लेख गरिएको जानकारी गराए।

‘पृथ्वीनारायण शाहको दिव्योपदेश र वीपी कोइरालाको राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई समायोजित रूपमा अङ्गीकार गर्नुको विकल्प छैन, दुवै नेताले देशलाई शिरमा राखेरमात्र बाँकी निर्णय लिएँ’, पुस्तकमा लेखक मिश्रले भनेका छन्।

आफू व्यक्तिगतरूपमा धर्मका विषयमा निरपेक्ष रहे पनि धर्मान्तरणका घटना बढिरहेकाले हिन्दू-बौद्ध राष्ट्रको मुद्दा आवश्यक रहेको उनको भनाइ थियो। धर्म निरपेक्षताकै आडमा धादिङको रुवीभ्यालीका ७० प्रतिशत तामाङ समुदायलाई धर्मान्तरण गरिएको उनले सुनाए।

पूर्व उपप्रधानमन्त्री एवम् नेकपा (माले) का महासचिव मैनालीले मिश्रको पुस्तकले प्रजातान्त्रिक आन्दोलनमा नयाँ विचार दिएको बताए। लेखकका अनुभूति पोखिएको पुस्तकले मार्ग परिवर्तनको प्रस्ताव गरेको उनले सुनाए।

पूर्व मन्त्री ज्ञवालीले किताबलाई राजनीतिक घोषणापत्रको संज्ञा दिँदै आउँदो चुनावमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका साना दललाई पनि चुनौती बनेको बताए। सत्ताको नेतृत्व गरेको दल नेपाली कांग्रेसले महाधिवेशन सकेको ६ महिनामा नीति महाधिवेशन गर्ने भने पनि नसकेका बेला आएको राजनीतिक विचारप्रधान पुस्तकको महत्त्व हुने उनको विचार थियो।

कार्यक्रममा पत्रकार रमा सिंह, प्रकाशक संस्था फाइन प्रिन्टका संस्थापक नीरज भाइलगायतले मिश्रको पुस्तकको विशेषताका बारेमा प्रकाश पारेका थिए। पुस्तकको मूल्य ४ सय ५० रुपैयाँ तोकिएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×