समानुपातिक बन्दसूची बुझाउन अधिकांश दल अपराह्न मात्र निर्वाचन आयोग पुग्ने

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले सोमबार समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाउँदै छन्। निर्वाचन आयोगले आजलाई अन्तिम समयसीमा तोकेको हुँदा अधिकांश दलहरू अपराह्न मात्रै आयोग पुग्ने भएका छन्।

नेपाली कांग्रेसले दिउँसो १ बजेपछि बन्दसूची बुझाउने तयारी गरेको जनाएको छ। पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार जिल्लाबाट प्राप्त नामावलीलाई एकीकृत गर्ने काम अन्तिम चरणमा पुगेको छ। नेकपा एमाले पनि अपराह्न ४ बजे आयोग पुग्ने तयारीमा रहेको छ। एमाले निर्वाचन विभाग प्रमुख नीरज आचार्यका अनुसार क्लस्टर मिलाउने काम जारी रहेकाले समय लागेको हो।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीले साँझ ५ बजेतिर आयोग पुग्ने जनाएको छ। रास्वपाले पनि प्राइमरी इलेक्सन र आन्तरिक मूल्यांकनका कारण अपराह्न मात्र बन्दसूची बुझाउने सहमहामन्त्री विपिन आचार्यले जानकारी दिए।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबार बिहान बैठक बसेर बन्दसूची टुंग्याउने र त्यसपछि आयोग जाने तयारी गरेको छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार नामावली अन्तिम रूप दिन समय लाग्ने भएकाले अपराह्न मात्रै सूची पेस गरिनेछ।

यसैबीच, कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले रास्वपासँग आन्तरिक छलफल जारी राखेको र सहमति नभए छुट्टै बन्दसूची बुझाउने तयारी गरेको जनाएको छ।

निर्वाचन कार्यक्रमअनुसार दलहरूले सोमबार कार्यालय समयभित्र समानुपातिक उम्मेदवारको बन्दसूची अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। आयोगका अनुसार यस निर्वाचनमा ९३ राजनीतिक दल समानुपातिक प्रणालीतर्फ सहभागी हुन दर्ता भएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×