काठमाडौँ । बजेट अभावका कारण सुर्खेत सभाहलको दोस्रो चरणको निर्माणकार्य प्रभावित भएको छ।
वीरेन्द्रनगरस्थित निर्माणाधीन सभाहल आयोजनाका लागि पर्याप्त बजेटको व्यवस्थापन नहुँदा निर्माणकार्य प्रभावित हुनपुगेको हो। सङ्घीय आयोजना कार्यान्वयन एकाइ सुर्खेतले साना–ठूला तीनवटा हलको सिट व्यवस्थापनमा कम्तीमा रु. ६ करोड लागत अनुमान गरेको छ। तर सहरी विकास तथा निर्माण विभागले चालू आर्थिक वर्षमा रु. एक करोड ५० लाख मात्र बजेटको अख्तियारी पठाएको छ। जसले गर्दा आयोजनालाई दोस्रो चरणका काम अघि बढाउन समस्या परेको छ। एकाइका आयोजना प्रमुख अमरबहादुर थापाले बजेट अपुग भएका कारण ठेक्का आह्वान गर्न नसकिएको बताए। “विभागसमक्ष नयाँ प्राविधिक स्टिमेटसहित आवश्यक बजेट माग गरेका छौँ”, उनले भने, “यदि माग स्वीकृत नभए बाँकी संरचना बहुवर्षीय योजनाका रूपमा कार्यान्वयन गरिनेछ।” समानान्तर-चक्रेश्वरी शिवशक्ति जेभीले रु. २३ करोड लागतमा पहिलो चरणमा बहुउद्देश्यीय सभाहल, बैठक कक्ष, शौचालय, पर्खाल निर्माणका साथै खानेपानी र विद्युत् जडान कार्य पूरा गरेको हो।
८५० सिट क्षमता भएको ठूलो हल, १५० सिट क्षमता भएका साना दुई हल छन्। अब ती हलमा फर्निचर व्यवस्थापनको काम बाँकी छ। साढे तीन बिघा क्षेत्रफलमा फैलिइएको सभाहलको निर्माणकार्य आव २०७३-७४ देखि सुरु गरिएको हो। भूकम्प प्रतिरोधी सभाहलसहित प्रशासनिक भवन, अपाङ्गमैत्री संरचना र करिब ४०० सवारीसाधन पार्किङ गर्न सकिने सुविधा रहेको आयोजनाले जनाएको छ। यो कर्णाली प्रदेशकै सबैभन्दा ठूलो र पहिलो सुविधासम्पन्न सभाहल हो।