काठमाडौं । काठमाडौं सहरको एउटा विशेषता नै बनिसकेको छ, जताततै अव्यवस्थित फोहोरको डंगुर देखिनु । तर, सहरी विकास मन्त्रालयको जिम्मेवारीमा युवा नेतृ रामकुमारी झाँक्रीको प्रवेश भएपछि भने सहरका फोहोर विस्तारै व्यवस्थित हुन थालेका छन् ।
जसका लागि मन्त्री झाँक्री आफै पार्कहरुमा पुगेर निरीक्षण गर्ने र विभिन्न विभागहरुलाई तत्काल कामको सुचारु गर्ने निर्देशन समेत दिन थालेकी छन् । जसले गर्दा युएन वाग्मती करिडोरको सफाई पनि सुरु भएको छ । निर्देशन दिने क्रममा मन्त्री झाँक्रीले भनेकी छन्, “शहर सफा राख्नु हामी सबैको दायित्व हो, तसर्थ सबै एकजुट भएर शहरलाई सुन्दर बनाउने कार्यमा लागौँ ।”
केही हप्ताअघि मन्त्री झाँक्री स्वयं उक्त स्थानमा पुगेर अनुगमन गरी कामको निर्देशन दिएकी थिइन् । सोही निर्देशन बमोजिम अहिले सरसफाईको काम प्रभावकारी ढंगबाट अघि बढिरहेको छ । जताततै फोहारको डंगुर भएर कुरुप देखिएको युएन पार्कको मुहार फेरिन थालेको छ भने वाग्मती करिडोर आसपासका क्षेत्रमा रहेका फोहोर पनि हट्न थालेका छन् ।
शहरको वास्तविक पहिचान भनेकै सफाई र स्वच्छता भएको हुनाले उपत्यकामा देखिएका फोहोर तत्काल हटाएर सुन्दर शहर निर्माण गर्ने पनि मन्त्री झाँक्रीको प्रतिबद्धता छ । साथै उहाँले कर्मचारीहरुलाई आफ्नो काम समयमा सम्पन्न गर्न पनि निर्देशन दिईरहेकी छन्।