काठमाडौँ - आईसीसी विश्वकप क्रिकेट लिग-२ मा घरेलु टिम पपुवा न्युगिनी नामिवियासँग फराकिलो अन्तरले पराजित भएको छ।
मंगलबार अमिनी पार्कमा भएको खेलमा नामिवियाले पपुवा न्युगिनीलाई १६७ रनले पराजित गर्न सफल भयो। २८५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पपुवा न्युगिनी ४२.४ ओभरमा सबै विकेटको क्षतिमा ११७ रनमै समेटिएपछि नामिवियाले फराकिलो अन्तरले पराजित गरेको हो।
पपुवा न्युगिनीका नोरमन भनुवाले ३८ र चार्ल्स अमिनीले २७ रन बनाउन बाहेक अन्य ब्याटरले खेल्नै सकेनन्। बलिङतर्फ बेर्नाड स्कोल्टजले ३ विकेट लिएका थिए।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नामिवियाले ५० ओभरमा ४ विकेटको क्षतिमा २८४ रन बनाएको थियो। नामिवियाका माइकल भान लिंगेनले शतकसहित ११९ रन बनाएका थिए।
पपुवा न्युगिनीविरुद्ध नामिवियाले जितेसँगै आईसीसी विश्वकप क्रिकेट लिग-२ मा भने नेपाललाई प्रत्यक्ष रूपमा घाटा भएको छ। लिग-२ को तालिकामा नेपाल पुछारदेखि दोस्रो स्थानमा रहेको छ। शीर्ष स्थानमा ओमान रहेको छ। ओमानको ३६ खेलबाट ४४ अंक रहेको छ।
स्कटल्यान्डको २८ खेलबाट ४० अंक हुँदा तेस्रो स्थानमा रहेको अमेरिकाको ३२ खेलबाट २९ अंक रहेको छ। २६ खेलबाट २७ अंक बनाएको यूएई चौथो स्थानमा रहेको छ। यता, नामिविया भने २१ खेलबाट २४ अंकसहित पाँचौँ स्थानमा रहेको छ। छैटौँ स्थानमा रहेको नेपालले २० खेल खेल्दै ८ मा जित ११ खेलमा हार र १ खेलमा बराबरीसहित १७ अंक बनाएको छ। पुछारको नामिवियाको २३ खेलबाट ५ अंक रहेको छ।