काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको ११ औँ जिल्ला अधिवेशन आगामी जेठ १० देखि गर्ने निर्णय गरिएको छ।
जिल्ला कमिटी बैठकले जेठको १०, ११ र १२ गते अधिवेशन गर्ने निर्णय गरेको हो। अधिवेशनको खुला सत्रमा पार्टी अध्यक्ष केपि शर्मा ओलीलाई सहभागी हुन अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको छ।
अधिवेशन सम्पन्न गर्न एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा ४ सय ९९ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ। त्यसैगरी विभिन्न उपसमितिहरु समेत बनेका छन्।
मूल व्यवस्थापन समितिमा पार्टी जिल्ला कमिटी, पालिका कमिटी एवम् जन संगठनका जिल्ला कमिटी, नगर कमिटी पदाधिकारी र चितवन भूगोलमा कार्यक्षेत्र रहेका प्रदेश र केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरु समावेश गरी ४ सय ९९ जना बनाइएको अध्यक्ष न्यौपानेले जानकारी दिए।
अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति समेत बनाइएको छ।
त्यसैगरी उपाध्यक्ष कमलराज पाठकको संयोजकत्वमा आर्थिक प्रतिवेदन उपसमिति, सचिव प्रकाश खनाल ‘शैलेश’को संयोजकत्वमा खाद्य तथा आवास व्यवस्थापन उपसमिति, उपसचिव प्रकाश ढुंगानाको नेतृत्वमा प्रचारप्रसार उपसमिति, कार्यालय सचिव श्याम विष्टको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति बनाइएको छ । यी लगायत अधिवेशन सम्पन्न गर्न विभिन्न विभागीय समितिहरु समेत बनाइएको छ।