काठमाडौँ - यस वर्षको ‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगितामा तीव्र गतिका धावकको सूचीमा नेपाली सेनाका कृष्णबहादुर बस्नेतले नाम लेखाउन सफल भएका छन्।
सेना दिवसका अवसरमा शनिवार आयोजित ४२.१९५ किमी दूरीको म्याराथन दुई घण्टा १९ मिनेट ५७ सेकेन्डमा पूरा गरी बस्नेत प्रथम घोषित भएका हुन्।
बस्नेतले तीन लाख नगद र मोटरसाइकल पुरस्कारका साथै अमेरिकामा हुने वर्ल्ड च्याम्पियनशीपमा भाग लिने अवसरसमेत प्राप्त गरेका छन्।
प्रतियोगितमा सेनाकै खड्गबहादुर खड्का दोस्रो तथा सशस्त्र प्रहरी बल नेपालका किरणसिंह बोगटी तेस्रो भए। उनीहरूलाई क्रमशः दुई लाख र एक लाख नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो।
प्रतियोगिताअन्तर्गत पुरुष हाफ म्याराथन प्रतियोगितामा जगेन्द्र राई प्रथम, दिपक अधिकारी द्वितीय र तीर्थकुमार पुन तृतीय भए। उनीहरूलाई क्रमशः ७५, ५० र ३५ हजार नगद पुरस्कार प्रदान गरियो।
यसैगरी महिलातर्फको हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ प्रथम, राजपुरा पछाई द्वितीय र विश्वरुपा बुढा तृतीय भए । प्रतियोगितमा प्रथम हुने श्रेष्ठलाई ७५ हजार नगद र स्कुटी प्रदान गरियो।
विजयी प्रतियोगीलाई प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्मा र युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीलगायतले नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गरेका थिए।
सैनिक मुख्यालय जंगीअड्डा परिसरको खेल मैदानमा यसअघि म्याराथनसहित विभिन्न चार विधाका दौड प्रतियोगिताको प्रधानसेनापति शर्माले उद्घाटन गरेका थिए।
सैनिक सहचारी महिला–पुरुषको १० किमी दौड तथा उपत्यकाभित्रका सहायकरथी र सोभन्दा माथिका रथीवृन्द, सैनिक श्रीमती सङ्घका कार्यकारिणी पदाधिकारी सम्मिलित पाँच किमी वाकाथनका विजयी प्रतियोगिलाई पनि नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गरियो।