हुम्ला - पछिल्लो समय हुम्ला सदरमुकाम सिमकोटका किसान परम्परागत बाली छाडेर आलु खेतीतर्फ आकर्षित भएका छन्। गहुँ, जौ, उवा, फापर, चिसो र कादोभन्दा आलु खेतीमा जोड दिइएको छ। उत्पादन बजारमा सहजै बिक्री हुन थालेपछि किसान आलु खेतीतर्फ आकर्षित भएका हुन्।
जति फलाए पनि बिक्रीको चिन्ता नभएको यहाँका किसान बताउँछन्। सिमकोटको वडा नं ५ तल्लो गाउँ र वडा नं ६ माथिल्लो गाउँका किसानले आलु खेती मात्रै गर्ने गरेका स्थानीय मुक्ति रावतले बताउनुभयो। यहाँ बर्खामा मात्र आलु खेती गर्ने चलन छ। यहाँका अधिकांश किसानले आलु उत्पादन गरेर घरखर्च चलाउँदै आएका छन्। सिमकोटमा आलु प्रतिकिलो सिजनमा रु ८० देखि रु १०० सम्ममा तथा अरु समयमा रु १०० देखि रु १५० सम्ममा बिक्री हुने गरेको छ।
सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्रका किसानलाई अहिले आलु रोप्न चटारो छ। खेत खनजोतका साथै आलु उत्पादनका लागि ब्याड बनाउने काममा उनीहरु व्यस्त छन्।