तेस्रो लिंगीको हत्या गर्नेलाई जीवित रहेसम्म कैद

मकवानपुर- जिल्ला अदालत मकवानपुरले एउटा हत्या मुद्दामा पक्राउ परेकालाई हत्यामा संलग्न जीवित रहेसम्म कैदको फैसला गरेको छ। जिल्ला अदालत मकवानपुरले ४ माघ २०७६ मा तेस्रो लिंगीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जनालाई सो फैसला सुनाएको हो।

मकवानपुर प्रहरीले त्यस दिन बिहान हेटौंडा–५ क्याम्पाडाँडामा हत्या गरी फालिएको अवस्थामा भेटिएकी तेस्रो लिंगी (नाम परिवर्तन ‘कमलडाँडा एफ’) को हत्यामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेको थियो। हत्यामा संलग्न अन्यमध्ये एक जना नाबालकलाई १६ वर्ष कैद, अर्का एक जनालाई चार वर्ष कैद र एक जना महिलालाई एक वर्ष कैदसहित क्षतिपूर्ति र जरिमानाको फैसला सुनाएको छ।

मकवानपुर जिल्ला अदालतका मुख्य न्यायाधीश डिल्लीरत्न श्रेष्ठले हत्या गरिएकी तेस्रो लिंगीको परिवारलाई क्षतिपूर्ति भराउनेसमेत फैसला भएको जानकारी दिए। मुख्य न्यायाधीश श्रेष्ठका अनुसार हत्यामा संलग्न रहेका सुशील थापा, बुद्ध लामा र आशिष बललाई जबर्जस्ती करणी, कर्तव्य गरी हत्याको आरोपमा जीवित रहेसम्म कैद, डाँकाको आरोपमा नौ वर्ष कैद र ९० हजार जरिमाना, पीडितको परिवारलाई जनही ३ लाख रुपैयाँको दरले क्षतिपूर्ति भराउने फैसला भएको छ।

यसैगरी, हत्यामा संलग्न रहेका नाबालक नाम परिवर्तन ‘सिमलटार जेड’लाई १६ वर्ष आठ महिना कैद, डाँकातर्फ नौ वर्ष कैद र ६० हजार जरिमाना तथा पीडितको परिवारलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ।

अर्का आरोपित सिमोन परियारलाई बलात्कार र हत्यातर्फ चार वर्ष कैद, डाँकातर्फ नौ वर्ष कैद र ९० हजार जरिमाना तथा पीडितको परिवारलाई १ लाख रुपैयाँ क्षतिपूर्ति र तेस्रो लिंगीको मोबाइल प्रयोग गर्ने डोलमाया तामाङलाई एक वर्ष कैद र १० हजार जरिमाना तोकी फैसला भएको श्रेष्ठले जानकारी दिए। पीडितको परिवारलाई थप ५ लाख रुपैयाँ पीडित राहत कोषबाट क्षतिपूर्ति भराउनेसमेत फैसला भएको छ। आजको राजधानीदैनिकमा खबर छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×