दार्चुलाकाे छाङरु र तिंकरमा पनि जनगणना सम्पन्न, गणकलाई हेलिकाेप्टरबाट खलंग्या ल्याइयाे

दार्चुला । दार्चुलाको ब्यास गाउँपालिका-१ छाङरु र तिंकरमा जनगणना सम्पन्न भएको छ ।  भारतीय पक्षको असहयोगका कारण उक्त क्षेत्रमा  जनगणना हुने नह्ने अन्यौल थियो । नागरिकस्तरबाट सरकारलाई दबाब पनि थियो । अन्ततः जोखिम मोलेर छाङरु र तिंकर पुगेका गणकले तीन दिन लगाएर जनगणना सम्पन्न गरेको हो ।

भारतले आफ्नो क्षेत्रको सडकबाट जान नदिँदा स्वदेशको बाटो भएर जोखिमपूर्ण यात्रा गर्दै चार दिन हिँडेर जनगणना टोली उक्त क्षेत्र पुगेको थियो । 

३ मंसिरमा दार्चुला सदरमुकाम खलंगाबाट उक्त क्षेत्रतर्फ गएको जनगणना टोली ६ मंसिरमा छाङरु पुगेर जनगणना सुरू गरेको थियो । तीन दिनमा छाङरु र तिंकरगाउँमा जनगणना गरि बिहीबार खलंगा फिर्ता भएको जनगणना गर्न गएका जनगणना कार्यालय दार्चुलाका सहायक जनगणना अधिकारी खगेन्द्रसिह कार्कीले जानकारी दिए । टोलीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुला सदरमुकाम खलंगा ल्याइएको छ ।  

जनगणना गर्न जनगणना कार्यालय दार्चुलाका सहायक जनगणना अधिकारी खगेन्द्रसिह कार्की र कार्यालय सहयोगी लोकेन्द्र टेर गएका थिए। दुम्लिङबाट एक जना स्थानीय बाटो देखाउने मान्छे लगेर गएको कार्कीले बताए। 

खलंगाबाट पहिलो दिन ब्यास गाउँपालिका-२ दुम्लिङ, दोस्रो दिन थी र तेस्रो दिन बुदीमा बास बसेको र चौथो दिन छाङरु पुगेको कार्कीले बताए। बाटो अधिकाशं क्षेत्रमा भत्किएकोले बुट्यानका मुना समात्दै केही ठाउँमा पहाड चढेर र कुनै ठाउँमा बाटो बनाएर यात्रा गरी छाङरुसम्म पुगेको कार्कीले बताए । 

दुम्लिङभन्दा माथिल्लो क्षेत्रको मानवबस्ती छाङरुमा मात्र छ । दुई दिन राति भेडी गोठहरूमा बसेको कार्कीले बताउनुभयो ।  ‘थी’ र ‘बुदी’मा भेडी खर्कमा बसेको उनको भनाइ छ ।  

जादाँ जोखिमपुर्ण यात्रा गरी चार दिन हिँडेर गएका थियौँ, आउँदा विभागले हेलिकोप्टरको व्यवस्था गरिदिएर २० मिनेटमै सदरमुकाम पुर्याइएको कार्कीले बताए । 

बाटो जोखिमपूर्ण भएकाले गणना टोलीलाई फिर्ता गर्नका लागि विभागलाई हेलिकोप्टरको व्यवस्था गर्न जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले अनुरोध गर्नुभएको थियो । 

छाङरु र तिंकर गाउँमा रहेका ११३ घरपरिवार तथा त्यहाँस्थित एउटा सशस्त्र प्रहरी गुल्म र प्रहरी चौकीमा जनगणना गरिएको पाण्डेले बताए ।  

उक्त क्षेत्रमा चिसो बढेपछि तिंकरका केही परिवार जनगणना टोली पुग्नुभन्दा पहिला नै खलंगा झरेका छन् । सदरमुकाम झरेकाहरूको गणक परिचालन गरेर सदरमुकाममै जनगणना गरिएको जनगणना कार्यालय दार्चुलाका खरिदार हरिस पन्तले बताए । 

नेपालमा हिँड्नै नसकिने बाटो भएकाले महाकाली नदीमा तुइनको प्रयोग गरि भारतीय बाटो भएर जनणना टोली जान सक्ने भन्दै भारतले सुरक्षा निगरानी बढाएको थियो । ब्यास गाउँपालिका क्षेत्रमा महाकाली नदीमाथि लगाइएका तुइनहरूमा भारतीय सुरक्षा निकायले निगरानी बढाएको बुझिएको कार्कीले बताए ।

छाङरु र भारतको गरब्याङ गाउँ जोड्ने सीतापुल नाकामा पनि सदाझैँ भन्दा जनगणनाको समयमा तेब्बर सुरक्षाकर्मी परिचालन गरेको पाइएको उनको भनाइ छ । 

छाङरु र तिंकरमा जनगणना गर्नका लागि भारतीय सडक भएर जान जिल्ला प्रशासन कार्यालयले गत २६ कात्तिकमा भारतको पिथौरागढ जिल्लाको धार्चुला तहशिलसँग अनुमति मागेको थियो । तर भारतीय प्रशासनले अनुमति नदिँदा जनगणना प्रभावित हुन सक्ने भन्दै जनगणना कार्यालयले स्वदेशबाटै जनगणना टोली पठाएको थियो । 

ब्यास गाउँपालिका( १ मा पर्ने पाँच गाउँहरू कुटी, नाभी, गुञ्जी, तिंकर र छाङरु मध्ये कुटी, नाभी र गुञ्जी भारतले अतिक्रमण गरेको छ । भारतले अतिक्रमण गरेका बाहेक तिंकर र छाङरु गाउँमा नेपालको प्रशासनिक अधिकार कायम छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×