काठमाडौँ - इंग्ल्यान्डले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा पाकिस्तानलाई ६ विकेटले हराएको छ। जितको लागि १ सय ५९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। इंग्ल्यान्डको जितमा ओपनर एलेक्स हेल्सले अर्धसतकीय इनिङ्स खेले ४० बल खेलेका उनले ७ चौकासहित सर्वाधिक ५३ रन बनाएका थिए।
युवा ब्याटर ह्यारी ब्रुक्सले ४२ रन जोड्दा डेविड मलान २०, बेन डुकेट १७ र ओपनर फिलिप साल्ट १० रनमा आउट भएका थिए। पाकिस्तानका उस्मान कादिरले २ तथा हरिस रौफ र शहनवाज धानीले १/१ विकेट लिएका थिए। त्यसअघि नेशनल स्टेडियम कराँचीमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो।
पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ६८ रन बनाएका थिए। ४६ बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरेका थिए। यस्तै कप्तान बाबर आजमले ३१ रन जोड्दा इफ्तिखार अहमदले २८ रन बनाएका थिए।
हैदर अलीले ११ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। शन मकसुद ७ र मोहम्मद नवाज ४ रनमा आउट भएका थिए। यस्तै खुसदिल साह ५ रनमा आउट हुँदा नसिम साह र उसमान क्वादिरले कुनै पनि रन बनाउन सकेनन्।
इंग्ल्यान्डका लागि डेब्यू खेलिरहेका ल्यूक वुडले सर्वाधिक ३ विकेट लिएका थिए। आदिल राशिदले २ तथा साम करन र मोईन अलीले १/१ विकेट हात पारेका थिए। यो जितसँगै ७ खेलको टी-२० अन्तर्राष्ट्रिय खेलको सिरिजमा पाहुना टोली इङ्ल्याण्डले १-० ले अग्रता लिएको छ।