काठमाडौँ । नियमित सम्भार र रेखदेख नपाएपछि महोत्तरीको मटिहानी–७ स्थित शहीद केशव कोइरालाको स्मारकस्थल खण्डहरजस्तै बनेको छ।
“केशवजस्ता सपूतको सहादतले मुलुकमा २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भयो, त्यसयता लोकतान्त्रिक आन्दोलन र मधेश आन्दोलनसँगै मुलुकले लोकतान्त्रिक सम्बिधान पनि पायो”, केशवसँगै आन्दोलनमा होमिएका जलेश्वर नगरपालिका–५ पर्साका बासिन्दा बलराम शर्मा भन्छन्, “तर, हाँमी कृतघ्न भएछौँ, केशवको स्मारकस्थलको अहिलेको बेवास्ता देख्दा उहाँका प्रतिमा र स्मारक स्थल किन राखिएछ भन्ने लागेको छ।”
शहीद कोइरालाको मटिहानी–७ स्थित सहादतस्थल (हालको श्रीराम माध्यमिक विद्यालय परिसर) मा निर्माण भएको स्मारक पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईले २०५४ साल चैत १० मा अनावरण गरेका थिए। अहिले नियमित रेखदेख, सरसफाइ नपाएर र छाडा गाईवस्तुको खुला विचरण भइरहँदा शहीद प्रतिमास्थलको अवस्था दयनीय बनेको जनाइएको छ।
“हामी पाँचजना ( केशव कोइराला, गणेश नेपाली, श्रीधर ठाकुर, महेश कोइराला र बलराम शर्मा ) मटिहानी चौकी कब्जा गर्न खटिएका थियौँ”, शर्मा त्यतिखेरको घटना सम्झँदै भन्छन्, “चौकी नजिक पुगेर हामीले पहिलो फायर गर्यौँ, यसपछि प्रहरीको जवाफी फायरिङ सुरु भयो, हामीसँग प्रशस्त गोलीगठ्ठा नहुँदा फरक फरक दिशाबाट छरिएर सीमा कट्ने धुनमा थियौँ, ठ्याक्कै प्रहरीको गोलीले केशव ढल्नुभयो।” त्यतिखेर चौकी कब्जा गर्न जानेमध्ये महेशको २०३३ सालमा ओखलढुङ्गामा सशस्त्र आन्दालनकै क्रममा सहादत भएको, गणेश र श्रीधर ठाकुर पनि केही वर्षपहिले बितेपछि अब आफूमात्र सो घटनाका पात्रमध्ये बाँकी रहेको शर्मा बताउँछन्। केशव प्रजातन्त्रप्रतिको निष्ठा, यसका लागिको बलिदान र समवयबीच उर्जा प्रवाह गरिरहने साथीका रुपमा सम्झना भइरहने शर्माको भनाइ छ।
विसं २०४८ मा जननिर्वाचित कांग्रेसको सरकार गठन भएपछि गठित शहीद केशब कोइराला स्मृति प्रतिष्ठान मटिहानीले सरकारकै आर्थिक सहयोगमा शहीद कोइरालाको प्रतिमा बनाएर अनावरण गराएको थियो। शहीद प्रतिमास्थलको सौन्दर्य वृद्धि, नियमित मर्मत र सम्भारका लागि त्यसयता कतैबाट ठोस रकम प्राप्त हुन नसक्दा सोचे जति काम हुन नसकेको समितिका पदाधिकारी बताउँछन्। “हामीलाई त्यतिखेर प्राप्त रकमले प्रतिमा स्थापित त गर्यौँ”, प्रतिष्ठानका अध्यक्ष एवं कांग्रेसका नेता उपेन्द्र चौधरीले भेन, “गर्नुपर्ने काम धेरै भए पनि त्यसयता कतैबाट ठोस सहयोग नपाइँदा सोचेजस्तो प्रभाविलो र दिगो कामभने बढाउन सकिएन।”
कोइराला नेपाली प्रजातान्त्रिक –लोकतान्त्रिक आन्दोलनका अथक योद्धा हुन्। नेपाली कांग्रेसको आह्वानमा सशस्त्र आन्दोलनको तयारी गरिरहँदा उनलाई तत्कालीन निरंकुश पञ्चायती शासकले २०३१ साल साउन ३१ गते राती मटिहानीमा गोली हानी हत्या गरेको थियो। विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि उनको सहादत स्थलमा नै विसं २०५४ मा स्मारक बनाइएको थियो। यसपछि सो स्मारकस्थल मर्मत नपाएर बेवारिस बनेको हो।