काठमाडौँ - फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट फिल्म ‘मिलन’ प्रदर्शनमा आएको छ। खासै प्रचारप्रसार नगरिएको फिल्म देशभर एकसाथ रिलिज भएको हो।
यद्यपि देशभरका फिल्म हल ‘मिलन’ ले भने पाउन सकेको छैन। कतिपय हलमा ४ साता अगाडि प्रदर्शनमा आएको फिल्म ‘महापुरुष’ र आजैबाट प्रदर्शनमा आएको अभिनेता वरुण धवनको बलिउड फिल्म ‘भेडिया’ ले ओगटेको छ।
‘मिलन’ टेक पौरखी राईद्वारा निर्देशित फिल्म हो। मंगलवार प्रिमियर गरिएको फिल्मले प्रिमिएमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो। फिल्मले मल्टीप्लेक्स र सिंगल थिएटरमा भने राम्रो शो पाएको छैन।
‘मिलन’ मा सलोन बस्नेत, कुशल शाह ठकुरी, शिल्पा थापा, शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर, विशाल पहारीको अभिनय रहेको छ। एक युवतीका कारण दुई साथीको मित्रतामा आउने दरारमा फिल्म केन्द्रित छ।
बलिउड फिल्म ‘भेडिया’ भारतसँगै नेपालमा पनि प्रतीक्षित फिल्म हो। फिल्मले नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्ससहित राजधानी र मोफसलका राम्रो शो पाएको छ।