काठमाडौं । मिटरब्याजपीडित र सरकारबिचको वार्ता आज पनि निष्कर्षविहिन भएको छ ।
मिटरब्याज पीडित र सरकारबीचको तेस्रो दिनको वार्ता बुधवार गृह मन्त्रालयमा भएको थियो । सो वार्तामा पनि समस्या समाधानका लागि ठोस निर्णय हुन नसकेको हो ।
वार्ता पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मिटरब्याज तथा ठगि विरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवदेश कुसवाहले सरकारले मिटरब्याज पीडितको समस्यालाई गम्भिरतापूर्वक लिएको भएपनि समस्या समाधान गर्ने विषयमा निष्कर्ष ननिस्किएको बताए ।
उनले आफुहरुको आन्दोलन जारी रहने बताए। उनले आफुहरुको माग फर्जि लिखत्, तमसुक, दृष्टिबन्धक, छिनुवा, चेक सम्पूर्णलाई अवैध घोषणा गर्नुपर्ने, साहुले जफत गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने, अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायत रहेको बताए । त्यस्तै साहुहरुको सम्पत्ति सुद्धिकरण गर्नुपर्ने पनि आफूहरुको माग रहेको उनको भनाइ छ ।
माग पूरा नभएसम्म घर नफर्कने उनीहरुको अडान छ । वार्ता भइरहँदा उनीहरुले आन्दोलन पनि जारी राखेका छन् । मिटरब्याजपीडित न्याय खोज्दै २३ दिनको कष्टपूर्ण पैदल यात्रापछि काठमाडौं आएका हुन् ।
काठमाडौं आइपुगेको पनि ५ दिन बितिसकेपछि बल्ल सरकारले वार्तामा बोलाएको थियो । उनीहरु भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आश्रय लिइरहेका छन् ।