इन्धनकोे मूल्यवृद्धि नियन्त्रण गर्न सरकार लाग्नुपर्छ : नेता सिंह

काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्यवृद्धि नियन्त्रणमा सरकार लाग्नुपर्ने बताएका छन्।

काठमाडौँ महानगरपालिका-१० लाखेचौरमा निर्माण भएको सामुदायिक सभा हलको आज उद्घाटन गर्दै उनले महँगीको मारमा परेका जनतालाई राहत दिलाउनका लागि सरकारले इन्धनको मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने बताएका हुन्।

स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्ने उनको भनाइ थियो। ‘इन्धनमा स्वचालित मूल्य कायम गरिएको छ, सोही अनुसार सरकार अगाडि बढ्नुपर्छ, उपभोक्तालाई मारमा पार्न हुँदैन’, उनले भने।

स्वचालित मूल्य प्रणाली लागू गरिए पनि अन्तर्राष्ट्रिय बजारमा तीन पटकसम्म इन्धनको मूल्य घट्दा नेपालमा मूल्य नघट्नु दुःखद् कुरा भएको उनको भनाइ थियो। सरकारका काम कारबाही तल्लो तहका समुदायले राहत महसुस गर्नुपर्ने खालको हुनुपर्ने उनको भनाइ छ।

पूर्वउपप्रधानमन्त्री सिंहले काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापनका लागि दीर्घकालीन उपायको खोजी गर्नुपर्ने बताए। फोहरजस्तो संवेदनशील विषयमा राजनीतिकरण गर्न नहुने उनको भनाइ थियो। नेता सिंहले सरकारले गरेको कामले जनतालाई राहत महसुस हुनुपर्ने बताए।

बागमती प्रदेशका संस्कृति एवं पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले प्रदेश पूर्वाधार विकास साझेदार कार्यक्रमको रु १४ लाख बजेटमा सामुदायिक सभाहल निर्माण गरिएको जानकारी दिए। उनले उक्त सामुदायिक सभाहलका लागि चालु आर्थिक वर्षमा थप रु २० लाख विनियोजन गरेको उल्लेख गरे।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×