काठमाडौँ - अर्जेन्टिनाका मिडफिल्डर इन्जो फर्नान्डेजले कतारमा सम्पन्न फिफा विश्वकपमा उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्न सफल भएका छन्।
२१ वर्षे फर्नान्डेजले अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। अर्जेन्टिनाले आइतबार राति पेनाल्टी सुटआउट ४-२ ले हराउँदै उपाधि जित्न सफल भएको थियो। अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि जितेको हो। अर्जेन्टिनाले पछिल्लोपटक सन् १९८६ मा विश्वकपको उपाधि जितेको थियो।
कतारको लुसैल रंगशालामा सम्पन्न फाइनलको निर्धारित ९० मिनेटको समय २-२ को बराबरीमा सकिएपछि खेल थप समयमा धकेलिएको थियो। थप समयमा दुवै टिमले १-१ गोल गरेपछि खेल पेनाल्टी समयमा धकेलिएको थियो।
फ्रान्सका केलियन एमबाप्पेले ह्याट्रिक गरेपनि अर्जेन्टिनाको जितलाई रोक्न सकेनन्। एमबाप्पे सन् १९६६ पछि विश्वकपको फाइनल ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन्। १९६६ को विश्वकपमा इङ्ल्यान्डका जिओफ हर्स्टले फाइनलमा पश्चिम जर्मनीविरुद्ध ह्याट्रिक गरेका थिए।
पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लियोनल मेसी, पाउलो डिबाला, लिजाड्रो पाराडेज र गोन्जालो मोन्सियलले गोल गरेका थिए। फ्रान्सका एमबाप्पे र कोलो मुआनीले गोल गरेपनि किङ्स्ले कोमनको बल अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनजले बचाइदिएका थिए। यस्तै, फ्रान्सका आर्लियन चुवामेनीको प्रहार बाहिरिएको थियो।