इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा आर्सनलले वर्नमाउथमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै लिग तालिकाको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ।
खेलमा घरेलु टोली वर्नमाउथले सुरुवाती अग्रता लिए पनि आर्सनलले उत्कृष्ट पुनरागमन गर्दै महत्वपूर्ण तीन अंक जोड्न सफल भयो। वर्नमाउथका लागि १०औं मिनेटमा इभानिल्सनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि ७६औं मिनेटमा एली जुनियर क्रुपीले दोस्रो गोल थपे।
तर आर्सनलले दबाबमा पनि खेल नछाड्दै जवाफी प्रदर्शन गर्यो। १६औं मिनेटमा डिफेन्डर ग्याब्रियल मगलहेसले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि मिडफिल्डर डेक्लान राइसले ५४औं र ७१औं मिनेटमा दुई उत्कृष्ट गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
यो खेल डेक्लान राइसको लिग करियरमा पहिलो पटक एउटै खेलमा दुई गोल गरेको अवसर पनि बन्यो।
यस जितसँगै आर्सनलले २० खेलबाट ४८ अंक जोड्दै दोस्रो स्थानको एस्टन भिल्लामाथि ६ अंकको अग्रता बनाएको छ। एस्टन भिल्लाको ४२ अंक रहेको छ भने एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ४१ अंक छ।
मुख्य खेलाडी बुकायो साका र लियान्द्रो ट्रोसार्डलाई सुरुवाती लाइनअपमा नराखे पनि प्रशिक्षक मिकेल आर्टेटाको टोलीले प्रभावशाली प्रदर्शन गर्दै सन् २००३–०४ पछि पहिलो पटक प्रिमियर लिग उपाधि जित्ने लक्ष्यलाई मजबुत बनाएको छ।