काठमाडौँ - हिमपातका कारण शुक्रबारदेखि बन्द भएको मध्यपहाडी पुष्पलाल राजमार्ग अझै खुल्न सकेको छैन। हिमपातले मध्यपहाडी राजमार्गको बागलुङ खण्ड चार दिनदेखि अवरुद्ध बनेको हो।
वर्षासँगै परेको हिमपातले बागलुङको माथिल्लो क्षेत्र अझै पनि सेताम्मे छ। शुक्रबार रातिदेखि परेको हिमपातले शनिबार बिहानसम्म बागलुङका ग्रामीण क्षेत्र पनि हिउँले सेताम्मे बनेका थिए। भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गअन्तर्गतको बागलुङ–पूर्वी रुकुम सडक खण्ड ठप्प भएको छ। बागलुङको निसीखोला गाउँपालिका र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा अत्यधिक हिमपात भएपछि यातायात ठप्प भएको हो। निसीखोलाको सीप क्षेत्रदेखि माथिल्लो भेगमा दुई फिटभन्दा बढी हिउँ जमेको हुँदा सडक अवरुद्ध भएको स्थानीयवासी अबिन घर्ती मगरले जानकारी दिए। उनले सिमानाभन्दा तल्लो क्षेत्रमै दुई फिटभन्दा बढी हिउँ जमेको भन्दै सिमाना अझ बढी हिउँ भएको बताए।
काठमाडौँदेखि पूर्वी रुकुमका लागि छुटेका गाडी रोकिएका छन्। सडक अवरुद्ध हुँदा यात्रुहरुलाई यातायातमा समस्या भएको छ। बागलुङ हुँदै पोखरा, काठमाडौँलगायत देशका मुख्य सहरमा जाने यात्रु सडक अवरुद्धका कारण रोकिनु परेको छ। यस क्षेत्रमा यो तेस्रो पटकको हिमपात हो।