काठमाडौँ - विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब बिहीबार वाग्मती प्रदेश न्यु डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबलमा फाइनल पुगेको छ।
कीर्तिपुरस्थित मल्टीप्रपोज कभर्डहलमा बिहीबार राउन्ड रोबिन लिगको अन्तिम खेलमा पुसिलले एपीएफलाई २५-१८, १४-२५, २५-१७, २५-२० सेटमा हराएको हो।
दुवै क्लब खेल्नुअगाडि नै फाइनल पुगिसकेका थिए। पुलिस शीर्ष र एपीएफ दोस्रो स्थानमा रहँदै फाइनल पुग्न सफल भएको थियो। अब शनिबार उपाधिका लागि पुलिस र एपिएफबीच प्रतिस्पर्धा हुनेछ।
त्यसअघि बिहीबारै आयोजक न्यु डायमन्ड स्पोर्ट्स क्लबले परोपकार आदर्श माविलाई २५-२२, २५-१०, २५-१४ को सोझो सेटमा पराजित हराएको थियो। डायमन्डको ३ खेलमा यो पहिलो जित हो। परोपकार अंकविहीन रह्यो। डायमन्ड र परोपकारबीच पुन: तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ।
विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको मुख्य उद्देश्य न्यु डायमन्ड स्पोर्ट्स क्लबको भलिबल कोर्ट निर्माण सहयोगार्थ रहेकाले पुरस्कार वापतको २० प्रतिशत रकम दिनुपर्नेछ।