काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (बिहीबार बिहान) देशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज (बिहीबार) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक वदलीकै अवस्था रहने छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा दिउँसो मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा दिउँसो हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा आज दिउँसो हावाहुरी आउने पनि सम्भावना छ । आज राति कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा जनाइएको छ ।