काठमाडौँ। आइसीसी टी २० महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनका लागि नेपाली टिमका लागि आइतबार हुने यूएईविरुद्धको खेल गर या मरको अवस्थामा रहेको छ। नेपाली महिला टिमले अहिलेसम्म खेलका चार खेलमा तीन जित र एक हारका साथ दोस्रो स्थानमा छ भने प्रतियोगितामा बलियो टिमका रुपमा देखिएको यूएई चार खेलमा चार जित निकाल्दै आठ अंकका साथ शिर्ष स्थानमा छ।
नेपाली महिला टिमलाई इतिहास बनाउनका लागि यूएईविरुद्धको खेलमा राम्रो रनरेटका आधारमा जित निकाल्नुपर्नेछ। चार खेल खेल्दा यूएईको दुई दशमलव ३९८ को रनरेट छ। नेपालको दुई दशमलव ०८८ को रनरेट छ। यदि झिनो अन्तरको जित निकालेको खण्डमा पनि नेपाललाई ग्लोबल छनोटमा स्थान बनाउन कठिन हुनेछ।
यो प्रतियोगितामा बलियो टिमका रुपमा देखिएको यूएईविरुद्ध नेपाली महिला टिमले अन्तिम खेलमा पुरै क्षमता देखाउनुपर्नेछ।
अहिलेसम्म खेलका चार खेलमा हङकङसँग ६ विकेटले पराजित हुनु बाहेक भुटानलाई ८ विकेट, कुवेतलाई ९ विकेट र मलेसियालाई ६ विकेटले हराएको छ । यता यूएईले मलेसियालाई ३० रन, हङकङलाई ११ रन, भुटानलाई ४७ रन र कुवेतलाई ७ विकेटले हराएको छ ।
अब लिग चरणको अन्तिम खेल दुबै टिमका लागि महायुद्दका रुपमा रहेको छ । यो प्रतियोगिताको शिर्ष स्थानमा रहने टिमले ग्लोबल छनोटमा स्थान बनाउनेछ। यता हङकङको पनि ग्लोबल छनोटमा स्थान बनाउने संभावना कायमै छ। किनकी अन्तिम खेलमा हङकङल कुवेतमाथि भारी अन्तरको जित निकालेको खण्डमा र नेपालले यूएईलाई झिनो अन्तरले हराएको खण्डमा उसको सम्भावना कायमै हुनेछ।