काठमाडौँ - सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको नेकपा एकीकृत समाजवादीले सत्तागठबन्धनबाट प्रदेश सभामा दुई सीट मात्र पाएको छ।
नेकपा एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी ले एमालेका २६ जना प्रदेश सभा सदस्यमध्ये १४ जना प्रदेश सभा सदस्य लिएर प्रदेशको सबैभन्दा ठूलो दल बन्न पुगेको थियो। तर, आसन्न चुनावमा एकीकृत समाजवादीले गठबन्धनबाट दुईटा मात्र सीट पाएको छ।
यहाँका नौ जिल्लामा गरी प्रदेश सभामा ३२ वटा निर्वाचन क्षेत्र रहेका छन्। सबैभन्दा ठूला दल हुँदा पनि एकीकृत समाजवादीको गठबन्धनबाट प्रदेश सभामा कैलाली क्षेत्र नम्बर ४ (२) र कैलाली क्षेत्र नम्बर ३ (२) मा मात्रै भाग परेको छ।
सत्ता गठबन्धनका दलहरूबीच सहमतिअनुसार कैलाली ४ (२) मा संसदीय दलका नेता रहेका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी र कैलाली क्षेत्र नम्बर ३ (२) मा निवर्तमान अर्थराज्यमन्त्री अमर साउदले उम्मेदवारी दर्ता गराएका छन्।
सुदूरपश्चिममा एकीकृत समाजवादी प्रदेशतर्फ २ क्षेत्रमै सीमित भएपछि गठबन्धनमा समस्या भएको छ।
राजधानी दैनिकबाट