काठमाडौँ – आनन्द आहुजासँग विवाह भएको चार वर्ष पश्चात अभिनेत्री सोनम कपुर आमा बन्ने भएकी छिन्। आफ्ना श्रीमानसँगको आफ्नो फोटो सामाजिक संजाल इन्स्टाग्राममा सार्वजनिक गर्दै उनले यसबारे जानकारी दिएकी थिइन।
बेबी बम्पसहित उनले आफु गर्भवती भएको खबर सबैमाझ साझा गरेकी छिन्। उनले तस्वीर सार्वजनिक गर्दै लेखेकी छिन्, “चार हात। तिम्रो उत्कृष्ट पालनपोषणका लागि जति हामी गर्न सक्छौँ। दुई मुटु। जुन तिमीसँगै धड्कन सक्नेछ, हरेक मोडमा। हाम्रो परिवार जसले तिमीमाथि प्रेम बर्साउनेछन् र समर्थन गर्नेछन्। हामी तिम्रो स्वागत गर्नका लागि थप प्रतीक्षा गर्न सक्दैनौँ।”
तस्बीर सार्वजनिक भएको केही क्षणमा नै यो खबर सबैतिर फैलिएको छ। वाणी कपुर, करिना कपुर, अंशुला, खुसी, अबू जानी, जान्ह्वीसहित अन्य थुप्रै सेलिब्रिटीले सोनमलाई बधाई दिएका छन्। करिना कपुरले पनि कमेन्ट मार्फत खुसी व्यक्त गर्दै बच्चाहरु सँगै खेल्नका लागि प्रतीक्षा गर्न नसक्ने बताएकी छिन्।