दक्षिण कोरियाविरुद्ध सहज जितसँगै ब्राजिल क्वार्टरफाइनलमा

काठमाडौँ - अन्तिम १६ को खेलमा सोमबार दक्षिण कोरियालाई ४-१ ले पराजित गर्दै ब्राजिलले कतारमा जारी फिफा विश्वकपको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ।

कतारको रंगशाला ९७४ मा भएको खेलमा ब्राजिललाई जित दिलाउँन भिनिसियस जुनियर, नेइमार, रिचार्लिसन र लुकास पाक्वेइटाले गोल गरेका थिए। दक्षिण कोरियाका सेयुङ हो पाइकले सान्त्वाना गोल फर्काएका थिए।

खेलको सातौं मिनेटमा भिनिसियस जुनियरको गोलमा ब्राजिलले अग्रता बनाएको थियो। १३औं मिनेटमा नेइमारले पेनाल्टीमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारेका थिए। दक्षिण कोरियाका हुन ह्वान किमले १८ यार्ड बक्सभित्र रिचार्लिसनमाथि फाउल गरेपछि ब्राजिलले पेनाल्टीको अवसर पाएको थियो। जसमा नेइमारले कुनै गल्ती गरेनन्।

२९औं मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिलको अग्रतालाई ३-० मा पूर्याए। यस्तै, ३६औं मिनेटमा पाक्वेइटाले गोल गर्दै ब्राजिललाई ४-० को सहज अवस्थामा पुर्याए। दक्षिण कोरियाका पाइकले ७६औं मिनेटमा गोल गरे पनि टिमको हार टार्न सकेनन्।

विश्वकपको प्रिक्वार्टरफाइनलमा ब्राजिल सन् १९९० यता अपराजित छ। १९९० मा भने ब्राजिल अन्तिम १६ को खेलमा अर्जेन्टिनासँग १-० ले पराजित भएको थियो।

दक्षिण कोरियालाई हराएसँगै ब्राजिलले सेमिफाइनल प्रवेशका लागि क्रोएसियासँगको भेट पक्का गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×