देशभर छुट्टाछुट्टै तीन सवारी दुर्घटनामा तीनजनाको मृत्यु

देशका विभिन्न स्थानमा बुधबार राति भएका अलग–अलग सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। काभ्रे, बारा र सिराहामा भएका सो दुर्घटनामा तीनै जनाले ज्यान गुमाएका हुन्।

काभ्रेको पनौती नगरपालिका–५, आईटीपार्कस्थित सडकमा मोटरसाइकल रोकी राखिएको टिपरमा ठोक्किँदा बाँके नेपालगञ्जका १८ वर्षीय सुदिप खत्री गम्भीर घाइते भएका थिए। शिर मेमोरियल अस्पताल बनेपामा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न दुवै टिपरका चालकलाई नियन्त्रणमा लिइएको छ।

त्यसैगरी, बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ३३ वर्षीय विनय चौधरीको मृत्यु भएको छ। गम्भीर घाइते चौधरीको पर्सास्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। सो दुर्घटनामा घाइते एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

सिराहा नगरपालिका–१६ माडरगाउँमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही ठाउँका २८ वर्षीय तेज नारायण यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सबै घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×