दमक - जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने प्रस्ताव गरेको छ।
जसपाले प्रदेशको नाम मौलिक सभ्यता, ऐतिहासिक राजनीतिक पुष्ठभूमि, पहिचानको आधारमा ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नु पर्ने विज्ञप्तिमार्फत उल्लेख गरेको छ।
अध्यक्ष प्रवीण चाम्लिङद्वारा मंगलबार जारी विज्ञप्तिमा प्रदेश नामाकरण सम्बन्धमा २०७७ असोज २३–२४ गते नै निर्णय गरिएको उल्लेख। प्रदेश १ को नामाकरण पहिचानको आधारमा नै हुनु पर्दछ भन्नेमा जसपा स्पष्ट र प्रतिवद्ध रहेको विज्ञप्तिमार्फत भनिएको छ। ‘मौलिक सभ्यता, ऐतिहासिक राजनीतिक पुष्ठभूमि, पहिचानको मागलाई सम्बोधन गर्दै प्रदेश नम्बर १ लाई ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ नामाकरण गर्नु पर्दछ’, विज्ञप्तिमा भनिएको छ।
प्रदेशको नामाकरणबारे भइरहेको वहस र छलफलले राजनीतिक सरगर्मी ल्याएको भन्दै जसपाले पछिल्लो राजनीतिक घटनाक्रमहरुलाई स्वागतयोग्य र गम्भीर भनेको छ।
आज मंगलबार नै प्रदेश नम्बर १ सरकारले प्रदेशको नामाकरण बारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको छ। मुख्यमन्त्रीको कार्यालयमा ढाकिएको सर्वदलीय बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरु, संसदीय दलका नेताहरु सहभागी हुने छन्।