काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले आफ्नो १ वर्षे कार्यकाल पुरा नहुँदै राजीनामा दिएपछि मुख्य प्रशिक्षकको पद रिक्त रहेको थियो। यसैबिच खबर आएको छ कि पूर्व प्रशिक्षक पुबुदु दासानायकेले अब उक्त पद सम्हाल्नेछन्। उनको नियुक्तिका लागि नेपाल क्रिकेट संघ (क्यान)को भर्चुअल बैठक आज बस्दैछ। ह्वाटमोरको राजिनामा पछी क्यानले सार्वजनिक सूचना जारी गर्दै पदको लागि आवेदन दिन आह्वान गरेको थियो। जसमा कुल ६० जना प्रशिक्षकले आवेदन दिए र त्यसमध्येबाट क्यानले ५ जनासँग मात्र अन्तर्वार्ता लिएको थियो। ति ५ मध्ये तीन जनाको नाम सर्टलिष्टमा राखिएको थियो। जसमा भारतीय प्रशिक्षक मोन्टी देसाई पहिलो रोजाई बने। तर, उनीसँग सेवा सुविधालगायतका कुरामा सहमति हुन सकेन। त्यसैले क्यान दोस्रो रोजाइ पुवुदुलाई नियुक्त गर्ने तयारीमा रहेको छ। उनको प्रशिक्षणकालमै नेपालले ट्वान्टी–२० विश्वकप खेलेको थियो।