उदयपुर - मुचुल्का अनुसार मतपत्र नभेटिएको भन्दै उदयपुरको क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यको मतगणना रोकिएको छ।
मुचुल्का गरी राखिएका ३० वटा मतपेटिका खोल्दा १ सय ७ मत मतपत्र नपुगेपछि सहमतिको प्रयास खोजिएको छ। त्रियुगा, चौदण्डि र बेलका नगरपालिकाको १० वटा मतपेटिकामा प्रदेशसभा ‘ख’ को १ सय मतपत्र थप भेटिएको र प्रतिनिधिसभातर्फ १ सय ७ मत नभेटिएपछि गणना कार्यमा विवाद बढेको हो।
मुख्यनिर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीका अनुसार सहमतिका लागि १०:३० बजे सर्वदलीय बैठक बोलाइएको छ। एमालेका उम्मेदवार मन्जुकुमारी चौधरीले मुचुल्का अनुसार मतपत्र नभेटिनुले आशंका पैदा भएको बताएकी छिन्।
उनले उक्त मतपेटिकामा प्रदेशसभाको १ सय मतपत्र थप भेटिनु र प्रतिनिधिसभाको मतपत्र नै गायब हुनु शंकाको विषय भएको बताएकी छिन्।