काठमाडौँ - अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का प्रमुख ग्रेग बार्कलीले टेस्ट क्रिकेटको भविष्य डरलाग्दो चित्रण गर्दै आगामी वर्षहरूमा टेस्ट क्रिकेट खेल्ने संख्यामा कमी आउने बताएका छन्। उनले महिलाहरुको टेस्ट क्रिकेटमा पनि ठूलै परिवर्तन हुने अपेक्षा नरहेको बताएका छन्।
बार्कलीका अनुसार विश्वभरी नै टी-ट्वान्टी लिगहरू तथा आईसीसीको विभिन्न प्रतियोगिताको व्यस्त खेल तालिकाका कारण टेस्ट क्रिकेटका लागि थोरै मात्र समय बाँकी रहनेछ।
इन्डियन प्रिमियर लिग जस्ता घरेलु प्रतियोगिताले नै अन्तर्राष्ट्रिय तालिकामा असर गरिरहेको तथा यसले दुईपक्षीय सिरिजमा असर गर्ने समेत बार्कलीले बताएका छन्। यसको नकारात्मक असर भनेको खेल खेल्न थोरै अवसर प्राप्त गर्ने देशहरुको राजस्व संकलन न्यून हुन जाने उनले प्रक्षेपण गरेका हुन्।
उनले भारत, इंग्ल्यान्ड र अष्ट्रेलियाजस्ता देशहरुसँग सिरिजका लागि समय मिलाउन निकै कठिन हुने बताए। बार्कलीले टेस्ट क्रिकेटका कारण देशहरूलाई ठूलो लगानी गर्नुपरेको उल्लेख गरेका छन्।