काठमाडौँ - भारत र दक्षिण अफ्रिकाबीचको टी-२० क्रिकेट श्रृंखला रोमाञ्चक मोडमा पुगेको छ। पाँच खेलको श्रृंखलाका शुरुआती दुई खेल गुमाएर निराश भारतले त्यसपछिका दुवै खेल जितेसँगै २-२ को बराबरी भएको छ। अब अन्तिम खेलबाट उपाधिको छिनोफानो हुनेछ। अन्तिम खेल आइतबार बैंगलुरुमा बेलुकी ७ः१५ बजेबाट सुरु हुनेछ।
यसअघि शुक्रबार राति भएको चौथो खेलमा भारतले शानदार खेलेकाे थियाे। भारतले पाहुना टोली दक्षिण अफ्रिकालाई ८२ रनले हराएकाे थियाे। भारतले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.५ ओभरमा अलआउट हुँदै ८७ रन मात्र बनाएकाे थियाे।
रस्सी भान डेर डुसेनले २० तथा क्विन्टन डी ककले १४ रन बनाए भने मार्को जनसेनले १२ रन जोडेका थिए। अन्य कुनै पनि खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन्।
नाटकीय शैलीमा विकेट लिने क्रममा आभेश खानले १८ रन खर्चेर ४ तथा युजभेन्द्र चहलले २१ रन खर्चेर २ विकेट लिएका थिए। हर्षल पटेल र अक्षर पटेलले १/१ विकेट लिएका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो।
भारतका लागि प्लेयर अफ द म्याच दिनेश कार्तिकले २७ बलमा ५५ रनको अर्धशतकीय इनिङस् खेल्दा हार्दिक पाण्डेयले ३१ बलमा ४६ रन बनाएका थिए। इशान किसन २७ रनमा आउट भए।
लुंगी एनगिडीले २ विकेट लिए।