काठमाडौँ - नेपालले पाकिस्तान विरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा जित हासिल गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार बेलुकी सम्पन्न खेलमा नेपालले पाकिस्तानलाई १-० ले हराएको हो।
नेपाललाई जित दिलाउन अञ्जन विष्टले निर्णायक गोल गरेका थिए। खेलको ८२ औं मिनेटमा अञ्जनले निर्णायक गोल गरेका हुन्। उनले अतिरिक्त खेलाडी सुनिल बलको लामो पासमा उत्कृष्ट गोल गरेका थिए।
अन्जनको यो ११ औं अन्तर्राष्ट्रिय गोल हो। अञ्जन सर्वाधिक गोलकर्ता हरि खड्का र निराजन राइमाझी भन्दा २ गोलले मात्रै पछि रहेका छन्। अञ्जनले दशरथ रंगशालामा २ महिनाको अवधिमा ४ गोल गरेका छन्। गत असोजमा उनले बंगलादेशविरुद्ध ह्याट्रिक गरेका थिए। यस जितसँगै नेपालले दशरथ रंगशालामा ५० औं खेल पूरा गरेको छ। नेपालले सन् १९८४ बाट दशरथ रंगशालामा आधिकारिक रुपमा पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो।
सन् १९८४ मा आयोजना भएको पहिलो दक्षिण एसियाली खेलकुद अन्तर्गत सेप्टेम्बर १८ मा नेपालले पहिलो औपचारिक खेल खेलेको हो। जुन खेलमा नेपालले माल्दिभ्सलाई ४-० ले हराएको थियो।
यो खेलसँगै पाकिस्तान अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको छ। पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तराष्ट्रिय खेल खेल्नका लागि नेपाल आएको हो