स्थानीय निर्वाचनमा केन्द्रले हस्तक्षेप नगर्ने नेपाली कांग्रेसको रणनीति

काठमाडौँ - सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तहमा चुनावी तालमेल गर्ने/नगर्ने अधिकार जिल्ला कार्यसमितिलाई दिने संकेत गरेको छ।

स्थानीय तहको आवश्यकता अनुसार चुनावी गठबन्धन बनाउने अधिकार मातहतका कार्यसमितिलाई नै प्रत्यायोजन गर्ने तयारीमा कांग्रेस लागेको हो। घोषित रुपमा देशभर चुनावी तालमेल नगर्ने पक्षमा रहेको कांग्रेसले ठाउँ विशेषमा भने गठबन्धन बनाउने रणनीति बनाउने भएको छ।

गत निर्वाचनमा उम्मेदवार चयन प्रक्रियामा पनि केन्द्रको हस्तक्षेप भएको भन्दै पार्टीमा असन्तुष्टि व्यक्त भएको थियो। त्यतिबेला केन्द्रबाटै टिकट वितरण गरिनुका साथै गठबन्धनसमेत गरिदिँदा मातहतका कार्यसमितिलाई बेवास्ता गरेको भन्दै विरोध भएको थियो। विगतको असन्तुष्टिबाट पाठ सिकेर केन्द्रले हस्तक्षेप नगर्ने नीति लिने नेताहरूको भनाइ छ। ‘स्थानीय तहमा टिकट वितरण र अन्य दलसँगको तालमेलको विषयमा केन्द्रले हस्तक्षेप भएको गुनासो थियो,’ सभापति शेरबहादुर देउवानिकट एक नेताले भने, ‘यसपटक घोषित रुपमा देशभर तालमेल हुँदैन। स्थानीय तहमा आवश्यकता अनुसार गठबन्धन बनाउन तल्लो तहका कार्यसमिति स्वतन्त्र हुन्छन्।’

केन्द्रबाटै गठबन्धन गरिदिँदा असन्तुष्टिहरु सार्वजनिक रुपमै अभिव्यक्त हुने, गठबन्धन पनि प्रभावकारी नहुने र कार्यकर्ताको पनि मनोबल घट्ने भएकाले पनि यसपटक केन्द्रबाट हस्तक्षेप नगर्ने रणनीति कांग्रेसले बनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×