काठमाडौँ - शुक्रबारबाट सुरु हुने नेपाल टी-२० लिगमा सहभागी हुने ६ विदेशी खेलाडी नेपाल आएका छन्। नेपाल टी-२०मा सहभागी हुने जनकपुर रोयल्सका २ तथा विराटनगर सुपर किंग्सका ४ खेलाडीहरु सोमबार अपरान्ह नेपाल आएका हुन्।
जनकपुर रोयल्सबाट खेल्नका लागि वेस्ट इण्डिजका चाडविक वाल्टन र ट्रेवोन ग्रिफ्ट काठमाडौँ आएका छन्। त्यस्तै विराटनगरमा अनुबन्ध भएका वेस्ट इण्डिजका आन्द्रे म्याकार्थी र किओन जोसेफ तथा अमेरिकाका गौरान्शु शर्मा र राज रकि नानन पनि आएका छन्। उनीहरुलाई दुबै क्लवका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका थिए।
कीर्तिपुरस्थित टियु मैदानमा पहिलो संस्करणको टी-२० लिग पुस ८ गतेबाट २६ गतेसम्म सञ्चालन हुनेछ। पहिलो संस्करणको लिगमा काठमाडौँ नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारबीच प्रतिष्पर्धा हुनेछ।