काठमाडौँ - ताप्लेजुङका आधा दर्जन बढी स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बनेका छन्।
एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा लामो समयदेखि स्थानीय तह प्रमुखविहीन अवस्थामा छन्। कुनै स्थानीय तह करिब ६ महिना अघिदेखि र कुनै केही सातायता प्रमुखविहीन बनेका हुन्। यहाँ स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतको अन्यत्र सरुवा भएको र सो ठाउँमा तत्काल पदपूर्ति नहुँदा प्रमुखविहीन बनेका हुन्। फक्ताङ्लुङ गाउँपालिका ६ महिनादेखि प्रमुखविहीन छ।
यस्तै, मिक्वाखोला गाउँपालिका तीन महिनादेखि प्रमुख प्रशासकीय विहीन बनेको छ। मेरिङ्देन गाउँपालिका र सिदिङ्वा गाउँपालिका एक महिनादेखि प्रमुखविहीन छ। पाथीभरा याङ्वरक र सिरिजङ्घा गाउँपालिका केही साता अघिदेखि प्रमुखविहीन छ। लामो समयदेखि कार्यालय प्रमुखविहीन हुँदा ति स्थानीय तहको काम प्रभावित भएको छ।
कार्यालय प्रमुख नभएका स्थानीय तहमा कतिपय कर्मचारी र शिक्षकले समयमा पारिश्रमिक पाउन सकेका छैनन् भने महत्वपूर्ण काममा बाधा पुगेको छ। कार्यालय प्रमुखको पदपूर्ति कहिलेसम्म हुन्छ भन्नेबारे अन्योल छ। फुङ्लिङ नगरपालिका, आठराई त्रिवेणी गाउँपालिका र मैवाखोला गाउँपालिकामा मात्र प्रमुख प्रशासकीय अधिकृत कार्यरत छन्।
यस्तै ६ वडा रहेको गाउँपालिकामा वडा सचिव नभएपछि सिरिजङ्गा गाउँ कार्यपालिकाले सम्बन्धित वडाका सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई वडा सचिवका रूपमा खटाउने निर्णय गरेको छ।