काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगाण्डा भ्रमणमा जाने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद वैठकको निर्णय बुधबार सिंहदरबारमा सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले यसबारेमा जानकारी गराएकी हुन् ।
उनका अनुसार प्रधानमन्त्री प्रचण्डले युगाण्डाको राजधानी कम्पालामा माघ ५–६ मा आयोजना हुने असंलग्न आन्दोलनका विजयी राष्ट्रहरूको १९औँ सम्मेलनमा भाग लिनेछन् । सो अघि माघ ३–४ मा हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र १–२ माघमा हुने पदाधिकारी बैठकमा परराष्ट्र सचिवको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल गठन गर्ने निर्णय भएको छ ।