काठमाडौँ - बंगलादेशविरुद्धको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बाब्वेले जितेको छ। उसले गएराति सम्पन्न खेलमा १७ रनले जितेको हो।
यो जितसँगै घरेलु टोलीले ३ खेलको सिरिजमा १-० को अग्रता लिएको छ। २०६ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाएर १८८ रन मात्र बनायो।
उसका लागि कप्तान नुरुल हसनले अविजित ४२ रनको योगदान गरेका थिए। नजमुल हसन सान्तोले ३७, लिटन दासले ३२, अनमुल हकले २६, मोसाद्देक हुसेनले १३ र अफिफ हुसेनले १० रन जोडेका थिए।
जिम्बावेका लागि लुक जोन्ग्वेले २ तथा रिचर्ड नगर्भा, विलिङ्टन मासाकाट्जा तथा सिकन्दर राजाले १/१ विकेट लिएका थिए। त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस जितेर ब्याटिङ रोजेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०५ रन बनाएको थियो।
उसका लागि विस्ली मधेभरे र सिकन्दर राजाले अर्धशतकीय पारी खेलेका थिए। ४६ बलमा ६७ रन बनाएका मधेभरेले ९ चौका प्रहार गरेका थिए। राजा २७ बलमा ७ चौका र ४ छक्कासहित ६५ रनमा अविजित रहेका थिए।
सेन विलियम्सले ३३ र कप्तान क्रेग एर्विन २१ रन जोडेका थिए। बंगलादेशका लागि मुस्ताफिजुर रहमानले २ तथा मेसाद्देक हुसेनले १ विकेट हात पारेका थिए। बंगलादेश र जिम्बाब्वेबीचको दोस्रो खेल आज हुनेछ।