काठमाडौँ - नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको नयाँ भवनको एक समारोहबीच सोमबार शिलान्यास गरिएको छ।
अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि नयाँ भवन निर्माण थालिएको हो। भवनको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरेकी छन्। अस्पतालले रु. १४ करोड ३५ लाख खर्च गरेर सुविधासम्पन्न भवन बनाउन लागेको हो। भवन निर्माणको पहिलो चरण अन्तर्गतको कामको लागि रु चार करोड १२ लाख ५० हजार ५९३ लागतमा काम सुरु गर्न लागेको अस्पतालले जनाएको छ।
भवन निर्माणको सम्पूर्ण काम सम्पन्न गर्नका लागि कूल रु. १४ करोड ३५ लाख लाग्ने अनुमान गरिएको छ। बजेट अभाव भएका कारण हाललाई सुरुआतमात्रै गर्न खोजिएको नेपाल नेत्रज्योति सङ्घका सभापति एवं भरतपुर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज धरेलले जानकारी दिएका छन्। निर्माण थालेको छ महिनामा पहिलो चरणको काम सम्पन्न गराउने लक्ष्य रहेको छ। तीन तलाको उक्त भवन निर्माण सम्पन्न भएमा भुइँतलामा बच्चा (पेडियट्रिक) वार्ड, पहिलो तलामा जनरल वार्ड र दोस्रो तलामा शल्यक्रिया कक्ष (अपे्रशन थिएटर) सञ्चालन हुनेछ।
वि.सं. २०४४ चैत १८ गते आँखा रोगको निदान एवं उपचारको उद्देश्य राखेर स्थापना भएको अस्पतालले बिरामीको चाप बढ्दै गएपछि नयाँ भवन निर्माण गर्न लागेको हो।