काठमाडौँ - विभागीय टोली नेपाल एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय पुरूष एकदिवसीय क्रिकेट प्रतियाेगिताकाे फाइनल प्रवेश गरेको छ। उसले आज सम्पन्न पहिलो सेमिफाइनलमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएकाे हाे।
१२३ रनकाे लक्ष्य एपिएफले २१.३ओभरमा ३ विकेट गुमाउँदै भेट्टयाे। उसका लागि लाेकेश बमले अविजित रहँदै सर्वाधिक ३५ रनकाे याेगदान दिए। प्रदीप ऐरीले ३३,आरिफ शेखले २५ र सुमित महर्जनले १३ रन जाेडेका थिए।
मधेसका लागि रूपेश सिंहले २ तथा राजेश यादवले १ विकेट हात पारे। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ताे पाएकाे मधेसले ३१ ओभरमा सबै विकेट गुमाउँदै १२२ रन मात्र बनाएकाे थियाे।
उसका लागि रुपेश सिंहले अविजित रहदै सर्वाधिक ३६ रन जोडेका थिए। सन्तोष कार्कीले २०,इमरान शेखले १६,अनिल साहले १३,आदील आलमले ११ र राजेश यादवले १० रन बनाएका थिए।
एपिएफका कमलसिंह ऐरीले ४, भुवन कार्की र मौषम ढकालले २/२ तथा किशाेर महताेले १ विकेट लिँदा १ विकेट रन आउटका रूपमा प्राप्त भयाे। एपिएफले उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने दोस्रो सेमिफाइनलकाे विजेतासँग प्रतिस्पर्धा गर्नेछ।