नेपालले र्‍याफ्टिङमा ओलम्पिक पदक जित्ने आकलन

काठमाडौँ - युवा तथा खेलकुद मन्त्रालयले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने सम्भावना आकलन गरी साहसिक खेल अर्थात् र्‍याफ्टिङको विकास र विस्तार गर्ने सोच अघि सारेको छ।

साहसिक जलयात्रामा नेपाली खेलाडी (गाइड) मा अनुभव पोख्त र प्रतिस्पर्धी क्षमता बलियो देखेपछि आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिताका लागि मन्त्रालय नीतिगत व्यवस्थाको तयारीमा लागेको हो।

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले आगामी एसियन र ओलम्पिकमा र्‍याफ्टिङमा पदक जित्न नेपालको सहभागिता प्रभावकारी हुनसक्ने आकलन गरिएको प्रतिक्रिया दिए।

नेपालको भौगोलिक अवस्थितिका कारण पहाडबाट दक्षिणतर्फ बग्ने अधिकांश नदीमा पर्यटनसँगै खेलकुदलाई जोड्न र प्रयोग गर्नसक्ने प्रशस्त सम्भावना छ। त्रिशूली, भोटेकोसी, सुनकोसी, कालीगण्डकी, मस्याङ्दी, बूढीगण्डकी, कर्णाली र पश्चिम सेती साहसिक जलयात्राका लागि विश्वमै कहलिएका नदी हुन्।

नेपालका ६ हजारभन्दा बढी नदीनाला रहेकामा त्यसमध्ये दोस्रो स्तरका सहायक नदीमा पनि र्‍याफ्टिङ प्रतियोगिता सजिलै सञ्चालन गर्न सकिने छ। नेपालका नदीमा सन् १९६० देखि शुरू भए पनि सन् १९९० को दशकमा नेपाल भित्रनेमध्ये २० प्रतिशतसम्म पर्यटक जलयात्रामा निस्कने गरेको तथ्यांक छ।

नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीद्वारा गत फागुन अन्तिम साता त्रिशूलीमा भएको र्‍याफ्टिङमा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज र सचिव रेग्मी सहभागी भएसँगै साहसिक जलयात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने विषयले पुनः चर्चामा पाएको हो।

सचिव रेग्मी भन्छन्, ‘त्रिशूलीमा भएको र्‍याफ्टिङमा सहभागी भएसँगै हामीमा स्वामित्व ग्रहण भएको छ, आयोजक र खेलाडीमा ठूलो उत्साह देखियो, विभागीय टीम मात्र होइन, व्यक्तिगत खेलाडीमा पनि प्रतिस्पर्धा गर्ने क्षमता उच्च छ, पर्यटक र साहसिक खेलकुदलाई सँगै अघि लैजानुपर्छ, यस विधामा नेपालको पदक जित्ने सम्भावना अधिक छ।’
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×