अख्तियार इटहरीमा सबैभन्दा बढी उजुरी विराटनगर महानगरविरुद्ध

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा एक आर्थिक वर्षभित्र सबैभन्दा बढी उजुरी विराटनगर महानगरपालिका विरुद्ध परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका सूचना अधिकारी निरज देवका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा विराटनगर महानगरपालिकाविरुद्ध  भ्रष्टाचार तथा आर्थिक अनियमितता भएको भन्दै सबैभन्दा बढी उजुरी परेको हो। कुल उजुरीमध्ये ८ दशमलव ३३ प्रतिशत विराटनगर महानगरपालिकाको मात्रै रहेको छ।

आयोगको ३२ औं वार्षिक प्रतिवेदन अनुसार जिल्लाको हकमा भने सप्तरीमा सबैभन्दा बढी अनियमितता, भ्रष्टाचार हुने गरेको उजुरी परेको छ। प्रतिवेदनअनुसार कुल उजुरीमध्ये सप्तरीको मात्रै २२ प्रतिशत रहेको छ। यता, गाउँपालिकाको हकमा भने सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिकाको उजुरी सबैभन्दा बढी छ। भोक्राहा–नरसिंहको ५ दशमलव १३ प्रतिशत उजुरी परेको प्रतिवेदनमा जनाइएको छ।

अख्तियारको इटहरी कार्य क्षेत्रका जिल्लाबाट कुल २ हजार २४ वटा उजुरी परेको प्रतिवेदनमा जनाइएको छ। आर्थिक वर्ष २०७८/७९ मा आयोगमा विभिन्न माध्यमबाट कुल १६ हजार २ सय ३८ वटा उजुरी प्राप्त भएको सूचना अधिकारी देवले जानकारी दिए। आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ८ हजार ९३ उजुरीसहित कुल २४ हजार ३ सय ३१ वटा उजुरी रहेका थिए। उक्त उजुरीमध्ये ७० दशमलव ६ प्रतिशत फर्छ्यौट भएको जनाइएको छ। यस वर्ष १७ हजार १ सय ६९ वटा उजुरी फर्छ्यौट गरिएको छ भने फर्छ्यौट भएकामध्ये ८ सय २३ वटा उजुरी उपर विस्तृत अनुसन्धान गरिएको जनाइएको छ। राजधानी दैनिकबाट
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×