पूर्वाधारमा अरूलाई उछिन्दै ताराखोला अगाडि

काठमाडौँ - शैक्षिक अन्तक्र्रियामा भाग लिन सोमबार बागलुङको ताराखोला पुगेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल त्यहाँको सभागृह देखेर दङ्ग परेका छन्। 

दर्शकदीर्घाअघि उभिएर उनले भने, “यो हेर्दा, यहाँ बोलिरहँदा कुनै विकसित सहरको सभागृहमा पुगेझैँ अनुभूति भइरहेको छ।” उनले आन्दोलनमा होस् या विकास निर्माणमा ताराखोलाका जनसमुदायले इमान्दार भूमिका निर्वाह गरेकामा प्रशंसा व्यक्त गरेका छन्। “यहाँको जनसमुदाय मेहेनती र इमान्दार छ, कुनै छलछाम र तिकडम छैन भन्ने कुरा कामले पुष्टि गरेको छ”, उनले भने, “भौतिक पूर्वाधारदेखि समग्र विकासमा ताराखोलाको नेतृत्वले लिएको पहलकदमी सह्रानीय छ।”

मन्त्री पौडेलले भनेझैँ अविकास, गरिबी र पछ्यौटेपनबाट गुज्रिरहेको ताराखोला अहिले समृद्धिको यात्रामा सङ्घर्षरत छ। कुनै ताका माओवादी युद्धको रापताप झेलेको ताराखोला क्षेत्र गाउँपालिका बनेको भर्खर पाँच वर्ष बित्दैछ। सुरुकालका जनप्रतिनिधिको कार्यावधि आखिरितिर आएको छ। यस अवधिमा पूर्वाधार विकासतर्फ ताराखोलाले जिल्लाका अन्य स्थानीय तहलाई भने उछिनेको छ।

सडक, विद्युत्, खानेपानी हुँदै जिल्लाकै ठूलो र सुविधायुक्त सभागृह, बहुसांस्कृतिक सङ्ग्रहालय, आफ्नै प्रशासकीय भवनदेखि औद्योगिक ग्रामको योजनासम्म आइपुग्दा समृद्धि पछ्याइरहेको स्थानीय तहका रूपमा ताराखोलाले आफूलाई प्रमाणित गरेको छ। स्रोत तथा दक्ष मानव संशाधनको सीमितता, भौगोलिक कठिनाइ, नागरिक सशक्तीकरणको कमी आदिका बाबजुद विकास निर्माण र  नागरिक सेवामा ताराखोलाले मारिरहेको फड्कोको अनुभव त्यहाँ पुग्ने जो कोहीले गर्छन्।

आफैँमा प्राकृतिक र सांस्कृतिक वैभव बोकेको ताराखोलाको चिनारी अब समृद्धितिर लम्किरहेको गाउँपालिकाका रूपमा पनि बदलिएको छ। नयाँ व्यवस्था र संरचनामा काम गरेर छोटो अवधिमै नतिजा दिनुपर्ने चुनौतीलाई ताराखोलाले धेरै हदसम्म पार गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×