काठमाडौँ - बलिउड सुपरस्टार शाहरुख खान आज (बुधबार) ५७ औं जन्मदिन मनाउँदैछन्। आफ्ना प्रिय अभिनेतालाई जन्मदिनको शुभकामना दिन मुम्बईस्थित शाहरुखको निवास बाहिर फ्यानको घुइँचो लागेको छ।
चार वर्षसम्म भव्य जन्मदिन नमनाएका शाहरुखले यसपटक भने जन्मदिनलाई भव्य बनाउँदैछन्। किनभने अंग्र्रेजी नयाँ वर्ष २०२३ मा उनका ३ नयाँ फिल्म रिलिज हुँदैछन्। पठान, जवान र डंकी।
जन्मदिनको अवसरमा फ्यानले शाहरुखको बर्थडे र उनको नयाँ फिल्म ‘पठान’को टिजरलाई ट्रेन्डिङ बनाइरहेका छन्। शाहरुखकै जन्मदिनको अवसर पारेर बुधबार यशराज फिल्म्सले पठानको टिजर सार्वजनिक गरेको छ।
दीपिका पादुकोण र जोन अब्राहमको समेत मुख्य भूमिका रहेको पठान शाहरुखको प्रतीक्षित फिल्ममध्ये एक हो। ‘वार’ फेम्ड सिद्धार्थ आनन्द निर्देशित फिल्मको टिजर एक्सनप्रधान छ।
पठानबाहेक शाहरुखका एटलीको फिल्म ‘जवान’ र राजकुमार हिरानीको सोसल ड्रामा ‘डंकी’ रिलिज हुँदैछन्।