जनकपुर - मधेस प्रदेशको तीनदिने औपचारिक भ्रमण सकी गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको टोली पोखरा फर्केको छ। मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको औपचारिक निमन्त्रणामा गण्डकीका मुख्यमन्त्री पोखरेल नेतृत्वमा १८ सदस्यीय टोली शनिबार जनकपुर गएको थियो।
पोखरा विमानस्थलमा सञ्चारकर्मीसँगको भेटमा मुख्यमन्त्री पोखरेलले अन्तर प्रदेश सद्भावना भ्रमणले दुवै प्रदेशबीचको आपसी सम्बन्धलाई मजबुद बनाउँदै अनुभव आदानप्रदानमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए।
सङ्घीयता कार्यान्वयनका सन्दर्भमा भोगेका कठिनाइलगायत विषयमा मधेसका मुख्यमन्त्रीसँग महत्वपूर्ण छलफल भएको उनले जानकारी दिए। तीन दिनको भ्रमणका क्रममा मधेसका छ जिल्लाका विभिन्न धार्मिक तथा ऐतिहासिकस्थलको अवलोकन गरी धेरै जानकारी हासिल भएको उनले बताए। यी दुवै प्रदेशका धार्मिक पर्यटकीयस्थललाई एकआपसमा जोड्दै धार्मिक पर्यटनमा प्रवद्र्धन गर्नुपर्ने मुख्यमन्त्री पोखरेलले बताए।
बुद्ध एअरद्वारा सुरु पोखरा–जनकपुरको पहिलो उडानमा मुख्यमन्त्री पोखरेल नेतृत्वको टोली जलकपुर गएको थियो। भ्रमण टोलीमा अर्थमन्त्री रामजीप्रसाद बराल जीवन, उद्योग तथा पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देललगायत रहेका थिए। भ्रमणले दुवै प्रदेश बीचको पर्यटकीय साझेदारीसमेत बढ्ने विश्वास लिइएको छ।