वीरगञ्ज । स्रोत नखुलेको नेपाली रुपैयाँसहित एक भारतीय युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका– १५ बाईपास रोडमा बसपार्कबाट प्रतिमा चोकतर्फ पैदल गइरहेको युवकलाई जाँच गर्दा उनले बोकेको झोलाबाट ५ लाख ९० हजार रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक दिपक भारतीका अनुसार विशेष सूचनाको आधारमा प्रहरीले मंगलबार दिउँसो खनतलासी गर्दा सीमावर्ती भारतीय बजार रक्सौल २० कुम्हरियाटेल निवासी २९ वर्षीय बबलु राज रौनियारको झोलाबाट स्रोत नखुलेको रकम बरामद भएको हो ।
उनले एक हजार दरको ४१५ थान, ५ सय दरको ३४० थान र ५० दरको एक सय थान गरी ५ लाख ९० हजार रुपैयाँ बरामद भएको बताए । रौनियारलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरुद्धको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता समेत रहेको भारतीले जनाएका छन् ।