काठमाडौँ - विभिन्न छ गाविस मिलेर बनेको बेलकोटगढी नगरपालिकामा हाल १३ मध्ये आठवटा वडामा नयाँ भवन बनिसकेका छन्।
दुईवटा भवन निर्माणको प्रक्रियामा छन्। नगरपालिकाको भवन बनाउन जग्गाको समस्या देखिएजस्तै वडा कार्यालयलाई पनि जग्गा अभावले समयमै सबै वडामा भवन बनाउन कठिन भएको खतिवडाले बताएका छन्। जग्गा प्राप्त भएका स्थानमा बनाउँदै जाने क्रममा हालसम्म आठवटा वडामा नगरपालिकामार्फत बहुविपद् प्रतिरोधात्मक सुविधासम्पन्न भवन बनेको छ। “भाडाको घरमा रहेको वडा नंं १ को कार्यालयलाई जग्गा प्राप्त भएकाले भवन बनाउन ठेक्का लगाउन लागिएको छ। वडा नं ७ को भवन बनाउन ठेक्का निकालिएको छ”, उनले भने, “वडा नं ८, ११ र १३ को वडा कार्यालय भवन बनाउन जग्गा अभावले रोकिएको छ।”
राज्य पुनः संरचनापश्चात् नयाँ स्वरुपमा काम गर्दा भौतिक पूर्वाधारको अभाव थियो। उक्त समस्या समाधानका लागि नगरप्रमुख खनाल र उपप्रमुख कविता ढुङ्गानाले वडा र पालिकाको भवन बनाउने लक्ष्य लिएको भए पनि जग्गाको समस्याले लक्ष्य पूरा गर्न चुनौती देखिएको छ। “बजेट छुट्याएर मात्रै भवन बनाउन कठिन रहेछ। जग्गा व्यवस्थापन नुहँदा सबै वडामा भवन बनाउन सकिएन”, उपप्रमुख ढुङ्गानाले भने, “हालसम्म दशवटा भवन निर्माणको प्रक्रियामा समावेश भइसकेका छन्, बाँकी तीनवटा वडा कार्यालयका लागि दाताबाट जग्गा जुटाउने प्रयास जारी छ।”